बिना राउत मंसिर २८,रौतहट। सरोकारवालाहरूलाई सुर्तीजन्य पदार्थ,मादक पदार्थ सेवन तथा लागू औषद्य न्युनिकरण सम्बन्धि १ दिने अन्तरक्रिया तथा पैरवी कार्यक्रम रौतहटको गौरमा सम्पन्न भएको छ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर,आदिको क्यान्सर हुने गर्छ।त्यसैगरी दम,दीर्घकालीन रोग, उच्च रक्तचाप, हृदयघात,मस्तिष्कघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मिने,अवधि पूरा नभई बच्चा जन्मिने,मृत बच्चा जन्मिने, जस्ता गम्भीर असर हुने गरेको छ। सिमरा उपमहानगरपालिकाका जनस्वास्थ अधिकृत रवि भास्कर विश्वमा बर्सेनि ८० लाख मानिसको मृत्यु सुर्ती सेवनबाट हुने गरेको र नेपालमा बर्सेनि २७ हजार मानिसको मृत्यु हुनेगरेको तथ्यांकमा उल्लेख गरिएको जानकारी दिनुभयो । उनले चुरोटको धुवाँले सेवन गर्ने भन्दा आसपासको व्यक्तिको स्वास्थमा यसको गम्भीर असर गर्ने भएकाेले यस्तो कार्य गर्न नहुने बताउनु भयो।

धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने र बचाउने उपायकाे रूपमा साथीभाइको दबाबमा परेर सुर्तीजन्य पदार्थको सेवन नगर्ने, कसैकाे लहैलहैमा नलाग्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपान गर्नेहरूले छुटाउनको लागि स्वास्थकर्मीको सल्लाह लिने गर्नुपर्छ जस्ता उपायहरू अपनाउन आग्रह गरिएको थियो। जिल्ला समन्वय समिति रौतहटको सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिको रूपमा आफ्नो मन्तब्य राख्दै सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरणको लागि ठाउँठाउँमा जनचेतना अभिवृद्धि गर्ने र यो कार्यमा स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउने भयाे। रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरण गर्न सम्बन्धित सबै निकायकाे भूमिका महत्वपूर्ण र नागरिक आफै पनि सचेत हुन सके न्यूनीकरणको पाटोमा अझ सफलता प्राप्त गर्न सकिने वताउनुभयो। प्र.जि.अ.मिश्रले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरणमा कार्यालय प्रमुखको भूमिका महत्वपूर्ण हुने र यस तर्फ आम नागरिक ,कर्मचारी पनि सचेत हुनुपर्ने जिकिर गर्नुभयो। स्वास्थ्य कार्यालय रौतहटका गौरका प्रमुख विपिन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठ,प्रादेशिक अस्पताल गौरका मे.सु कृष्णा साह, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेस चन्द्र झा लगायत विभिन्न निकायका पदाधिकारीको उपस्थिति रहेको थियो। स्वास्थ कार्यालय रौतहट गौरको आयोजनामा भएकाे कार्यक्रम गौर स्थित साइमन होटलको सभाहलमा सम्पन्न भएकाे छ।