दाङ ।। मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हँुदैछ । देशका ३३ जिल्लाका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगर, प्रदेश र प्रतिनीधिसभा सदस्यका लागि हुने निर्वाचनमा दवाव र प्रभाव नहोस् भन्ने नागरिक सोचिरहेका छन् । निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा सरोकारवालाहरुले पनि जोड दिएका छन् । दाङ्मा दुई पदका लागि निर्वाचन हुँदैछ । उम्मेदवारहरु अहिले मतदाताको घरदैलोमा पुगीरहेका छन् । नेताहरु पनि आफ्ना उम्मेदवारलाई जिताउन खटिएका छन् । दाङको दंगीशरणकी कृष्णा गौतम चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने बताउनुहुन्छ । मतदाताले मतदान केन्द्रमा निर्धक्क जानसक्ने वातावरण बन्नुपर्ने उहाँको भनाइ छ । मतदातालाई प्रलोभन देखाएर, घुसपैठ गरेर, आचारसंहिता उल्लङ्घन गरेको जस्ता घटना कतैपनि हुन नहुनेमा उहाँको जोड छ । निर्वाचनको समयमा राजनीतिक दल तथा तीनका उम्मेदवारले मतदातालाई प्रभाव पार्ने, धम्की दिने गतिविधि गर्ने गरेको आरोप हरेक चुनावका बेला लाग्छ । मतदाताले आफैंले रोजेको उम्मेदवारका लागि मत दिन पाउने उसको नैसर्गीक अधिकार हो भन्नुहुन्छ, शान्तिनगरकी लक्ष्मणप्यारी चौधरी । कसैलाई पनि लोभ र लालच नदेखाउन उहाँले दलहरुलाई आग्रह गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, डर, त्रास बिनाको बनाउने जिम्मेवारी प्रहरी प्रशासनको हो । निर्वाचन आचारसंहिता पालनाका लागि अनुगमन भइरहेको र आचार संहिता विपरीतका गतिविधि भए जानकारी गराउन पनि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आग्रह गर्नुभयो । लोकतन्त्रलाई बचाई राख्न र जनताका लागि जनताले शासन गर्न नेता चुन्न र्निाचन महत्वपूर्ण छ । मुख्य निर्वाचन अधिकृत एवम् दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा आचार संहिता आफैंले बनाएको हुनाले सबैले पालना गर्नुपर्ने बताउनुहुन्छ । निर्वाचन आचारसंहिता बनाउने र सहमति जनाउने तर कार्यान्वयनमा आनाकानी गर्न दलहरुलाई नैतिकताले दिँदैन । आफूले पनि आचारसंहिता पालन गर्ने र कसैले उल्लंघन गरेमा खबरदारी गर्नेतर्फ उनीहरुको ध्यान जानुपर्छ ।